सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा सरकारको कुल ऋण दायित्व मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ प्रतिशतभन्दा बढी पुगेको हो । कार्यालयका अनुसार सरकारको आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ लाख रुपैयाँ र बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड ८३ लाख रुपैयाँ रहेको छ । जीडीपीका आधारमा आन्तरिक ऋण दायित्व २० दशमलव ६३ प्रतिशत र बाह्य ऋण दायित्व २४ दशमलव ४१ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षमा सरकारले ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। भदौ मसान्तसम्ममा भने ६१ अर्ब ५ करोड रुपैयाँ ऋण प्राप्त भइसकेको छ, जुन वार्षिक लक्ष्यको ९ दशमलव २८ प्रतिशत हो।
यस वर्ष सरकारले आन्तरिकतर्फ ४ खर्ब १० अर्ब र बाह्यतर्फ २ खर्ब ४८ अर्ब २८ लाख रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ। भदौ मसान्तसम्म आन्तरिकतर्फ ५० अर्ब र बाह्यतर्फ ११ अर्ब ५ करोड रुपैयाँ ऋण उठाइएको छ।
त्यस्तै, चालु आर्थिक वर्षमा सरकारी ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। जसमध्ये भदौ मसान्तसम्म ८५ अर्ब १ करोड ६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
यो रकम वार्षिक बजेट विनियोजनको २० दशमलव ३४ प्रतिशत हो। जीडीपीको आधारमा भदौ मसान्तसम्मको कुल ऋण सेवा खर्च १ दशमलव २९ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।