बारा, वीरगंज–पथलैया सडकखण्डअन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका अनुसार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोको टोलीले बिहीबार साँझ वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ सोलखपुरका २८ वर्षीय हुस्नेन अन्सारी र वीरगंज महानगरपालिका–१४ चिनीमिल पिपराका १८ वर्षीय राजनकुमार पासवान रहेका छन् ।
उनीहरू सवार प्र.२–०३–००९ प ३७५६ नम्बरको कालो–सेतो रंगको हिरो सुपर स्प्लेन्डर मोटरसाइकल जाँच गर्दा करिब ८० ग्राम ब्राउन सुगर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यस्तै, उनीहरूको साथबाट तीन थान मोबाइल, नगद १ हजार १ सय १० रुपैयाँ र एटीएम कार्डसमेत बरामद गरिएको छ ।
सशस्त्र प्रहरीको जितपुरस्थित बेसबाट खटिएको टोलीले पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयले जनाएको छ ।