अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो खस्दा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने प्रमुख राजमार्ग अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, कान्ति लोकपथ र बीपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
धादिङको कृष्णभीरमा पहिरो गएपछि पृथ्वी राजमार्ग हुँदै काठमाडौं आउने यात्रुबाहक तथा मालबाहक सवारीसाधन रोकिएका छन्। काठमाडौं बाहिरिने मुग्लिन, पोखरा र नारायणगढतर्फका सवारीसाधनलाई पनि नागढुंगामै रोकिएको छ।
ललितपुरको भट्टेडाँडा तथा गोदावरीको बिर्खेधारामा पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएको छ। मकवानपुरको भीमफेदी क्षेत्रमा पहिरोका कारण सडक बन्द छ भने फर्पिङ–फाखेल सडकमा साना सवारीसाधन सञ्चालनमा छन्।
काभ्रेको किम्तिबेसीमा पहिरो गएपछि बीपी राजमार्गमा पनि आवागमन रोकिएको छ। पहिरोका कारण ठूला मालवाहक सवारी र ग्यास बोकेका बुलेटसमेत विभिन्न स्थानमा रोकिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार वर्षा नरोकिएकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको छ। उद्धार तथा जोखिम न्यूनीकरणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।