१. मधेसका एफएम र टेलिभिजनका फाइल आमसञ्चार प्राधिकरणलाई हस्तान्तरण
मधेस प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो तथा टेलिभिजनका फाइल सूचना तथा प्रसारण विभागले आमसञ्चार प्राधिकरण, मधेस प्रदेशलाई हस्तान्तरण गरेको छ ।
काठमाडौंस्थित विभागको कार्यालयमा महानिर्देशक अनुप दाहालले प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गालाई फाइल हस्तान्तरण गरेका हुन् । फाइल प्रदेशमा आएपछि एफएम तथा टेलिभिजनको दर्ता, नवीकरणलगायत सामान्य प्रशासनिक कामका लागि सञ्चालकले काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने प्राधिकरणले जनाएको छ ।
अब एफएम रेडियोको दर्ता तथा नवीकरण जनकपुरधामस्थित प्राधिकरणको कार्यालयबाटै हुने बताइएको छ ।
२. मधेसमा वन तथा वातावरणसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न नयाँ कार्यविधि
मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का वन तथा वातावरणसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ‘वार्षिक कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ लागू गरेको छ ।
कार्यविधिले चुरे संरक्षणलाई प्राथमिकता दिँदै बाढी तथा पहिरो जोखिमयुक्त क्षेत्रमा अध्ययन, एकीकृत जलाधार संरक्षण र चुरे संवाद महोत्सव सञ्चालन गर्ने व्यवस्था गरेको छ ।
त्यस्तै, ‘एक नागरिक, कम्तीमा एक बिरुवा’ अभियानमार्फत निःशुल्क बिरुवा वितरण तथा हरियाली प्रवर्द्धन गरिनेछ। वन अतिक्रमण र डढेलो नियन्त्रणका लागि र्यापिड रेस्पोन्स टिम परिचालन गर्नुका साथै जीआईएस र जीपीएस प्रविधिको प्रयोग बढाइने मन्त्रालयले जनाएको छ ।
३. बाढी–डुबानको जोखिम बढेपछि मधेसका आठै जिल्लामा उच्च सतर्कता
भारी वर्षासँगै बाढी तथा डुबानको जोखिम बढेपछि मधेस प्रदेशका आठवटै जिल्लामा सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ ।
उद्धार तथा राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरीले जनाएको छ । जोखिमयुक्त नदी, खोला, तटीय बस्ती, राजमार्ग तथा संरचनामा निगरानी बढाइएको छ ।
रौतहट, धनुषा, सिरहा, सप्तरी, सर्लाही, महोत्तरी, बारा र पर्साका विभिन्न क्षेत्र बाढी तथा डुबानको जोखिममा छन् । जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
४. गुठी जग्गा अतिक्रमण हटाउने अभियानविरुद्ध जनकपुरधाममा प्रदर्शन
गुठीको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका परिवारलाई हटाउने गरी अघि बढाइएको अतिक्रमण हटाउने अभियानको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
गुठी–कुट्टी घरजग्गा व्यवस्थापन संघर्ष समितिको नेतृत्वमा भएको प्रदर्शनपछि गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ ।
समितिका अध्यक्ष सन्तोष साहका अनुसार गुठी तथा कुट्टीको जग्गामा ३० देखि ३५ हजार मानिस पुस्तौँदेखि बसोबास गर्दै आएका छन्। समितिले वास्तविक अवस्था अध्ययन गरी उचित प्रक्रिया अपनाउन तथा आवश्यक मुआब्जासहित जग्गा रैथानी नम्बरीमा परिणत गर्न माग गरेको छ ।
५. वीरगंजका सबै वडा कार्यालयबाटै मालपोत कर सङ्कलन हुने
वीरगंज महानगरपालिकाले नगरवासीलाई सहज सेवा दिने उद्देश्यले सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर सङ्कलन गर्ने व्यवस्था गरेको छ ।
महानगरपालिकाका अनुसार २०८३ असोज १२ गतेदेखि सबै वडा कार्यालयबाट अनिवार्य रूपमा मालपोत कर सङ्कलन गरिनेछ । यससँगै मालपोत कर बुझाउन महानगरपालिकाको मुख्य कार्यालय पुग्नुपर्ने बाध्यता हट्ने भएको छ।
नगर प्रमुख राजेशमान सिंहले सेवा नगरवासीको घरदैलो नजिक पुर्याउने उद्देश्यले वडा कार्यालयबाटै कर सङ्कलनको व्यवस्था गरिएको बताए । महानगरपालिकाले आवश्यक तयारी पूरा गरी सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर बुझाउन नगरवासीलाई आग्रह गरेको छ ।
६. नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा सामाजिक परिचालकविरुद्ध मुद्दा
रौतहटको माधव नारायण नगरपालिकामा कार्यरत सामाजिक परिचालक कृष्ण नन्दन प्रसाद यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार यादवले सामाजिक परिचालक पदमा नियुक्ति लिँदा बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिल, पटनाबाट जारी भएको देखिने आईए तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट पुष्टि भएको हो ।
नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति लिएर सरकारी सेवाबाट लाभ तथा सुविधा लिएको दाबी गर्दै अख्तियारले यादवलाई कैद तथा जरिवाना सजायको मागदाबी गरेको छ ।
७. लालबकैया पुलबाट खोलामा हाम फालेका युवक बेपत्ता
रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया पुलबाट खोलामा हाम फालेका २७ वर्षीय युवक बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरियाका सचिन्द्र यादव रहेका छन् । उपचारका लागि दाइ सिकिन्द्र यादवसँग मोटरसाइकलमा रौतहटतर्फ जाँदै गर्दा उनले अचानक मोटरसाइकलबाट उत्रिएर पुलबाट खोलामा हाम फालेका थिए ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गोताखोरसहित उनको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले युवकको मानसिक अवस्था ठीक नभएको जानकारी प्राप्त भएको जनाएको छ।
८. जीतपुरसिमरा नगर अस्पतालमा अब सर्पदंशको उपचार हुने
बाराको जीतपुरसिमरा–२, सिमरास्थित जीतपुरसिमरा नगर अस्पतालमा अब सर्पदंशका बिरामीको उपचार हुने भएको छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आवश्यक पूर्वाधार, जनशक्ति र उपचार मापदण्ड पूरा भएको निष्कर्षपछि अस्पताललाई सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको हो।
‘सर्पदंश उपचार केन्द्र सञ्चालन सम्बन्धी मापदण्ड, २०७७’ अनुसार अस्पतालले २०८३ असोज ५ देखि २०८७ असोज ४ गतेसम्म सेवा सञ्चालन गर्न पाउनेछ। प्रदेश सरकारबाट एन्टिभेनमलगायत आवश्यक औषधि तथा सामग्री प्राप्त भएपछि उपचार सेवा नियमित रूपमा सञ्चालन गरिने महाशाखाले जनाएको छ ।
९. जीतपुरबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
बाराको जीतपुरबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको औद्योगिक सुरक्षा बेस जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–५, अशोक स्टील नजिकबाट पर्साको सखुवाप्रसौनी गाउँपालिका–४ का २८ वर्षीय हुस नयन अंसारी र वीरगंज महानगरपालिका–१४ का १८ वर्षीय राजन पासवानलाई पक्राउ गरेको हो ।
वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूबाट ब्राउन सुगर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
१०. महोत्तरीका एमाले प्रदेश सदस्य आलम नेकपामा प्रवेश
महोत्तरीको सम्सी गाउँपालिका–२ का नेता तथा नेकपा एमालेका प्रदेश सदस्य एमडी महताब आलम नेकपामा प्रवेश गरेका छन् ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलमलाई खादा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
पार्टी प्रवेशपछि आलमले जनताको अधिकार, सुशासन र समृद्धिको आन्दोलनलाई अगाडि बढाउन आफू क्रान्तिकारी धारमा फर्किएको प्रतिक्रिया दिएका छन् ।