सिरहा । दुई दिनदेखि लगातार परेको वर्षासँगै आएको हावाहुरीका कारण सिरहाको विष्णुपुर गाउँपालिका–१ का किसान गोपिन्द्र यादवको करिब दुई बिघा क्षेत्रफलमा लगाइएको उखुबारीमा क्षति पुगेको छ ।
जग्गा भाडामा लिएर उखु खेती गरेका यादवका अनुसार हावाहुरी र अविरल वर्षाका कारण उखुका बोटहरू ढलेपछि उत्पादन घट्ने र लगानीसमेत नउठ्ने अवस्था आएको छ ।
यादवले उखु खेतीका लागि चार लाख रुपैयाँ ऋण तथा सापटी लिएर लगानी गरेका थिए । उखु खेतीबाट राम्रो उत्पादन भएको अवस्थामा करिब १० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरे पनि प्राकृतिक विपत्तिका कारण लगानीसमेत फिर्ता नहुने चिन्ता रहेको उनले बताए ।
विष्णुपुर गाउँपालिका–१ का पूर्ववडाध्यक्षसमेत रहेका यादव पछिल्लो समय पुनः कृषि व्यवसायमा फर्किएका हुन्। उनले भाडामा जग्गा लिएर मेहनतका साथ उखु खेती गरे पनि हावाहुरी र वर्षाले ठूलो क्षति पुर्याएको बताए ।
“जसोतसो जग्गा भाडामा लिएर उखु खेती लगाएको थिएँ। तर गए राति आएको हावाहुरी र वर्षाले सबै उखु ढालिदियो । अब त लगानी पनि नउठ्ने देखिन्छ,” यादवले भने, “यही खेतीबाट घरपरिवारको जोहो गर्दै आएको थिएँ । क्षति भएपछि अब घरपरिवार चलाउन पनि मुस्किल हुने अवस्था आएको छ ।”
प्राकृतिक विपत्तिका कारण उखु खेतीमा भएको क्षतिको यकिन विवरण संकलन तथा किसानलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग स्थानीय किसानहरूले गरेका छन् ।