नारायणी नदीमा आएको भीषण बाढीले बगाएर पुलमा अड्किएको राइनो क्रुजसिपलाई तीनवटा क्रेनको सहायताले निकाल्न थालिएको छ ।
बाढीले होटल रिभर क्राउन अगाडिबाट बगाएको क्रुज पुलको गैँडाकोटतर्फको पिलरमा गएर अड्किएको थियो। क्रुजलाई सकभर क्रेनको सहायताले तानेर गैँडाकोटतर्फकै किनारमा लैजाने प्रयास भइरहेको प्रशासनले जनाएको छ ।
तीनवटा क्रेन प्रयोग गरी क्रुजलाई पुलको पिलरबाट निकालेर सुरक्षित स्थानमा लैजाने प्रयास भइरहेको हो। तीन तले क्रुज पुलको पिलरमा अड्किएपछि पुलमा समेत क्षति पुग्न सक्ने जोखिम बढेको थियो ।
कम्पनीका अनुसार क्रुजलाई रुखमा टुचिन लगाएर बाँधिएको थियो। तर, नदीमा आएको ठूलो बाढीका कारण रुखसहित टुचिन चुँडिएपछि क्रुज बगेर पुलसम्म पुगेको हो। क्रुज राखिएको स्थानमा बाढीले बगाएर ल्याएका दुईवटा रुख अड्किएर ठेल्दा टुचिन चुँडिएको कम्पनीको दाबी छ ।
कम्पनीले २० एमएमका दुईवटा टुचिन अन्तर्राष्ट्रिय मापदण्डअनुसार बाँधिएको जनाएको छ। ७० टनभन्दा बढी तौल रहेको क्रुज पानीमा तैरिरहेको अवस्थामा भने यसको भार कम हुने कम्पनीको भनाइ छ ।
करिब डेढ वर्षअघि नारायणी पुलभन्दा माथिल्लो क्षेत्रमा ल्याइएको उक्त क्रुज १०० फिट लामो र २५ फिट चौडा छ। यसमा एकपटकमा १८० जनासम्म यात्रु अटाउन सक्ने क्षमता रहेको छ ।
झण्डै १५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको राइनो क्रुजलाई नेपालकै पहिलो क्रुजसिपका रूपमा सञ्चालनमा ल्याइएको थियो ।