राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रहरी नियन्त्रणमा रहेका बेला आयोगको टोलीलाई भेट्न नदिएको विषयमा आयोगले खड्कालाई बयानका लागि बोलाएको हो ।
आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार खड्कालाई असोज १३ गते मंगलबार आयोगमा उपस्थित हुन पत्राचार गरिएको छ। आयोगको टोलीलाई हिरासत अनुगमन गर्न नदिएको विषयमा सोधपुछ गर्न खड्कालाई बोलाइएको उनले बताए ।
आइतबार आयोगका सदस्य मनोज दुवाडीसहित तीन सदस्यीय टोली जबरालाई भेट्न उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको थियो। तर प्रहरीले भेट्न अनुमति नदिएपछि आयोगको टोली फर्किएको थियो ।
यसअघि आइतबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुरक्षा खतरा रहेको भन्दै जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा लगेको थियो ।