पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नियन्त्रणमा लिएको घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष बयान दिएका छन् ।
आयोगले राणालाई हिरासतमा राखिएको अवस्थामा अनुगमनका लागि पुगेको टोलीलाई भेट्न नदिएको विषयमा खड्कालाई बयानका लागि बोलाएको थियो। आयोगका अनुसार घटनामा मानव अधिकार र संविधान पालना भएको विषयमा समेत अनुसन्धान भइरहेको छ ।
बयानका क्रममा एसएसपी खड्काले आफूले गरेका सबै काम आदेशअनुसार गरेको बताएका छन्। आयोगमा कार्यरत उपसचिवस्तरकी अनुसन्धान अधिकृतले खड्कासँग बयान लिएकी थिइन् ।
राणालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याएको थियो। प्रहरीले उनलाई सुरक्षा जोखिम रहेको भन्दै कार्यालयमा ल्याइएको बताएको थियो ।
राणालाई कार्यालयमा राखिएको समयमा राष्ट्रिय मानव अधिकार आयोगको टोली अनुगमनका लागि टेकु पुगेको थियो। तर, प्रहरीले आयोगको टोलीलाई राणासँग भेट गर्न दिएको थिएन। आयोगको टोली करिब ४५ मिनेट गेटमै रोकिएपछि फर्किएको थियो । त्यसपछि आयोगले घटनाबारे चासो जनाउँदै एसएसपी खड्कासँग स्पष्टीकरण तथा बयान लिने प्रक्रिया अघि बढाएको हो ।
आयोग स्रोतका अनुसार खड्कासँग लिइएको बयान प्रारम्भिक चरणको हो। घटनाबारे अनुसन्धान जारी रहेकाले आवश्यकताअनुसार अन्य व्यक्ति तथा सम्बन्धित निकायसँग समेत सोधपुछ हुनसक्ने जनाइएको छ।