पर्सा क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद बुद्धिप्रसाद पन्तले आफ्नो निर्वाचन क्षेत्रस्थित हिमाल आइरन एन्ड स्टिल उद्योगका करिब १५० श्रमिकले ९ महिनादेखि पारिश्रमिक नपाएको विषय प्रतिनिधिसभामा उठाएका छन्।
सांसद पन्तले उद्योगका श्रमिकले अढाई करोड रुपैयाँभन्दा बढी पारिश्रमिक पाउन बाँकी रहेको भन्दै दसैँको मुखमा तत्काल तलब भुक्तानीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले श्रमिकको पारिश्रमिक भुक्तानीका लागि आवश्यक समन्वय र सहजीकरण गर्न आग्रह गरे।
कुनै समय हजारौँ श्रमिकलाई रोजगारी दिएको ज्योति समूहअन्तर्गतको उक्त उद्योग अहिले करिब १५० जना श्रमिकको समेत ज्याला दिन नसक्ने अवस्थामा पुग्नुको कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने पन्तले बताए।
उनले पछिल्ला सरकारका आर्थिक तथा बैंकिङ लगानी नीतिका कारण औद्योगिक संकट उत्पन्न भएको भन्दै संकटग्रस्त उद्योगलाई उकास्न विशेष आर्थिक नीति ल्याउन सरकारसँग आग्रह गरे।