यस वर्षको दसैँ तथा तिहारका लागि नागरिकले राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले विगतमा जस्तो सार्वजनिक सूचना जारी गरी निश्चित दिन तोकेर नयाँ नोट वितरण गर्ने व्यवस्था नगरे पनि नयाँ नोट साट्न चाहने नागरिकका लागि सुविधा निरन्तर उपलब्ध गराइएको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार नागरिकले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट समेत नयाँ नोट साट्न सक्नेछन्। आफ्ना ग्राहकलाई वितरण गर्न बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेका छन् ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख अनुज दाहालका अनुसार नयाँ नोट सटहीका लागि यस वर्ष छुट्टै औपचारिक कार्यक्रम सञ्चालन गर्ने योजना छैन। तर स्वस्फूर्त रूपमा नयाँ नोट साट्न आउने नागरिकलाई एक–दुई सेटसम्म नयाँ नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
यस वर्ष नयाँ नोटको मौज्दात पर्याप्त रहेकाले सटहीमा समस्या नरहेको राष्ट्र बैंकले जनाएको छ। नागरिकले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाको शाखामा सम्पर्क गरी नयाँ नोट साट्न सक्नेछन् ।