जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिरलाई युनेस्कोको विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउन सरोकारवालाले पहल थालेका छन् ।
नेपाल सरकारले जानकी मन्दिरसहितको क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेपछि विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अघि बढाउन थालिएको हो ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहका अनुसार जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रारम्भिक प्रतिवेदन तयार गरिएको छ। उक्त प्रतिवेदनमाथि विज्ञ, समाजका अगुवा तथा अन्य सरोकारवालासँग सुझाव लिएर अन्तिम रूप दिने तयारी भइरहेको उनले बताए ।
अन्तिम प्रतिवेदन तयार भएपछि युनेस्कोमा पेस गर्ने योजना रहेको साहले जानकारी दिए। यसका लागि नगरप्रमुखको संयोजकत्वमा समिति गठन गरिएको पनि उनले बताए ।
पुरातत्व क्षेत्रमा काम गरिसकेका रामबाबु दहालले संरक्षित क्षेत्रभित्र रहेका मठमन्दिर, पोखरी, सरोवर तथा अन्य ऐतिहासिक र पुरातात्विक सम्पदाको सर्वेक्षण तथा अभिलेखीकरण आवश्यक रहेको बताए ।
उनका अनुसार संरक्षित क्षेत्र घोषणा गर्नु मात्रै पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयनका लागि सम्पदाको पहिचान, दस्तावेजीकरण, संरक्षण र व्यवस्थापनको काम अघि बढाउन आवश्यक छ ।
बुधबार भएको छलफलमा जानकी मन्दिरको ऐतिहासिक पृष्ठभूमि, वास्तुकला, धार्मिक परम्परा तथा मिथिला सभ्यतासँगको सम्बन्धलाई तथ्य र प्रमाणका आधारमा दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिइएको थियो ।
सरोकारवालाले जानकी मन्दिरलाई धार्मिक आस्थाको केन्द्रसँगै मिथिला संस्कृति र सभ्यताको महत्वपूर्ण सम्पदाका रूपमा संरक्षण गर्नुपर्ने धारणा राखेका छन्। साथै, संरक्षित क्षेत्रभित्र सम्पदाको मौलिक स्वरूपमा असर पर्ने गरी संरचना निर्माण नगर्न र विकास निर्माणका कामलाई सम्पदा संरक्षणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।
संरक्षित क्षेत्रभित्र रहेका पोखरी, सरोवर, मठमन्दिर तथा अन्य सांस्कृतिक सम्पदाको अवस्था पहिचान गरी संरक्षण तथा व्यवस्थापनको योजना बनाउनुपर्नेमा समेत सहभागीले जोड दिएका छन् ।