नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले दूरसञ्चार सेवाको नियमन र व्यवस्थापनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाइने बताएका छन्।
प्राधिकरणमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले दूरसञ्चार अत्यावश्यक सेवा बनिसकेकाले यसको नियमनलाई थप कडाइ र व्यवस्थित गर्न आवश्यक रहेको बताएका हुन्।
दूरसञ्चार क्षेत्रमा देखिएका जटिलता समाधान गर्न नियामक निकायले थप गम्भीर भएर काम गर्नुपर्ने अध्यक्ष घिमिरेले उल्लेख गरे। उपभोक्ताका रूपमा सबै नागरिक दूरसञ्चार सेवाबाट प्रत्यक्ष प्रभावित हुने भएकाले सेवा प्रदायकहरूलाई व्यवस्थित बनाउन नियामकले सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ।
विगतमा भ्वाइस सेवा प्रदान गर्ने अपरेटरको सङ्ख्या ६ वटा रहेकामा अहिले दुई वटामा सीमित भएको र इन्टरनेट सेवा प्रदायक (आईएसपी) को सङ्ख्या भने बढेको तथ्याङ्क उनले प्रस्तुत गरे। दूरसञ्चार क्षेत्रको समग्र आम्दानी घट्दो क्रममा रहेको बताउँदै हाल डेटा सेवाबाट हुने आम्दानी बढे पनि भ्वाइस सेवाबाट हुने आम्दानी घटेको उनले स्पष्ट पारे। यद्यपि आम उपभोक्तामा दूरसञ्चार सेवाको प्रयोग भने दिनप्रतिदिन बढिरहेको छ।
दूरसञ्चार क्षेत्रको वर्तमान अवस्था र चुनौतीपूर्ण नियामक भूमिकाबारे प्रष्ट पार्दै अध्यक्ष घिमिरेले भने, “अहिले दूरसञ्चार सेवा अत्यावश्यक भइसकेको छ। हामी कहाँ भ्वाइस सेवाका अपरेटर ६ वटाबाट दुई वटामा झरेका छन् भने टेलिकम क्षेत्रको राजस्व घटेको अवस्था छ। डेटाको आम्दानी बढे पनि भ्वाइसको आम्दानी घटेको छ। यी समग्र अवस्थालाई हेरेर अब नियमनको दायरा फराकिलो, व्यवस्थित र कडा बनाउनुपर्ने अवस्था छ। सरकारसँग समन्वय गरेर हामी यी चुनौती समाधान गर्नेछौँ।”
नियामक निकायसामु रहेका चुनौतीहरू सरकारसँगको समन्वयमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्राधिकरणका कामकारबाहीको निगरानी गर्न र आवश्यक सुझाव तथा दबाब दिन सञ्चार क्षेत्रलाई आग्रह गरे। प्राधिकरणका कामकारबाहीमा बाह्य प्रभाव वा दबाब आएमा पनि सही मार्गमा राख्न सञ्चार माध्यमले वाचडग” को भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। साथै प्राधिकरणले आफ्ना कामकारबाहीबारे प्रत्येक महिना सार्वजनिक रूपमा जानकारी गराउने घोषणा समेत उनले गरेका छन्।