नेपालमा पहिलोपटक राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत तिर्नुपर्ने प्रसारण शुल्क निर्धारण गरिएको छ। विद्युत् नियमन आयोगले प्रसारण प्रणाली उपयोग गर्ने विद्युत् उत्पादक तथा अन्य प्रयोगकर्ताका लागि शुल्क तोकेको हो ।
आयोगका अनुसार अल्पकालीन खुला पहुँचअन्तर्गत राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गर्दा प्रतिकिलोवाट घण्टा ५७ पैसा शुल्क लाग्नेछ। त्यस्तै, मध्यकालीन तथा दीर्घकालीन खुला पहुँचका लागि मासिक प्रतिमेगावाट ४ लाख १२ हजार ७ सय ५५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
आयोगले ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणना सम्बन्धी मापदण्ड, २०८३’ जारी गर्दै नयाँ दर लागू गर्ने व्यवस्था गरेको हो ।
यसअघि नेपालले भारत तथा बंगलादेशतर्फ विद्युत् निर्यात गर्दा प्रसारण संरचना प्रयोग गरेबापत शुल्क तिर्दै आएको थियो। तर, नेपालभित्र राष्ट्रिय प्रसारण ग्रिड प्रयोग गर्ने विद्युत् उत्पादकका लागि छुट्टै दर निर्धारण गरिएको यो पहिलोपटक हो। छिमेकी भारतमा भने यस्तो व्यवस्था यसअघि नै कार्यान्वयनमा रहेको छ ।
प्रसारण शुल्क निर्धारण गर्दा नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८१र८२ को लेखापरीक्षण गरिएको वित्तीय विवरणलाई आधार बनाइएको आयोगले जनाएको छ। साथै, आर्थिक वर्ष २०८२र८३ र २०८३र८४ का लागि प्राधिकरणले पेस गरेको वार्षिक आवश्यक आयको अनुमानित विवरणसमेतलाई आधार मानिएको छ ।
आयोगले मापदण्डमा तोकिएको गणना विधि प्रयोग गरी राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण गरिएको स्पष्ट पारेको छ ।