धनुषाको बटेश्वर गाउँपालिका–३ र ४ का १८६ परिवारले नापजाँच सम्पन्न भएको करिब नौ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा लालपुर्जा प्राप्त गरेका छन् ।
साविक बटेश्वर गाविसका वडा नं. १ देखि ९ सम्मका क्षेत्रमा बसोबास गर्दै आएका स्थानीयले लामो समयको प्रतीक्षापछि आफ्नो जग्गामाथिको कानुनी स्वामित्व प्राप्त गरेका हुन् । नापी कार्यालय धनुषाले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको जनाएको छ ।
सम्बन्धित क्षेत्रको जग्गा नापजाँच तथा नक्सांकनको काम २०७४ सालमै सकिएको थियो । तर, नापजाँच पूरा भए पनि त्यसपछि आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया अघि बढ्न नसक्दा लालपुर्जा वितरण रोकिएको थियो ।
लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेसँगै अहिले १८६ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराइएको हो । लालपुर्जा पाएपछि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयको जग्गामाथिको स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ ।
जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि स्थानीयलाई आफ्नो जग्गाको कारोबार तथा व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ । त्यस्तै, आवश्यक प्रक्रिया पूरा गरेर बैंक तथा वित्तीय संस्थामा जग्गा धितो राखी कर्जा लिन तथा जग्गासम्बन्धी विवाद समाधान गर्नसमेत सहज हुने जनाइएको छ ।
यसअघि धनुषाका विभिन्न क्षेत्रमा गरी ४ हजार ५५४ परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरिसकेको जनाइएको छ ।