मधेश प्रदेशमा लागूऔषध नियन्त्रणका लागि प्रहरीले निगरानी तथा कारबाही तीव्र बनाएका बेला धनुषा र सिरहाबाट ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् ।
धनुषामा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित बाबा पेट्रोल पम्प अगाडिबाट एक युवकलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो करिब ४ः२० बजे गरिएको चेकजाँचका क्रममा १६१ ग्रामभन्दा बढी ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंकामा पक्राउ परेका युवकका विषयमा थप अनुसन्धान भइरहेको छ। धनुषा प्रहरीले जेठ २३ गतेदेखि असोज १५ गतेसम्म सञ्चालन गरेको लागूऔषध नियन्त्रण अभियानका क्रममा ३१ जनालाई पक्राउ गरेको जनाएको छ ।
सो अवधिमा प्रहरीले विभिन्न प्रकारका लागूऔषध बरामद गरेको छ। प्रहरीका अनुसार ४७५ किलो ५१६ ग्राम अन्य लागूऔषध, ४२३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर, ८१० थान नाइट्रोभेट ट्याब्लेट र २ हजार ४८७ एम्पुल डाइजिपाम बरामद गरिएको छ। यस्तै, ३९ जना लागूऔषध सेवनकर्तामाथि सुधारात्मक कारबाही गरिएको प्रहरीले जनाएको छ ।
यता, सिरहामा पनि ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले एक यात्रुवाहक बसमा चेकजाँच गरेको थियो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०१–००१ ख ०२२१ नम्बरको बस जाँच गर्ने क्रममा धनगढीमाई नगरपालिका–७ का २० वर्षीय अजयकुमार यादवको साथबाट ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यादवले लगाएको जिन्स पाइन्टको बायाँ खल्तीमा कालो प्लास्टिकभित्र लुकाएर राखिएको अवस्थामा १० ग्राम ४१० मिलिग्राम ब्राउन सुगर र एक थान मोबाइल बरामद गरिएको हो ।
पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैया, सिरहामा राखिएको प्रहरीले जनाएको छ। दुवै घटनामा बरामद पदार्थ ब्राउन सुगर भए/नभएको तथा घटनामा संलग्नताको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।