नेपालबाट आवश्यक भन्सार प्रक्रिया पूरा नगरी भारततर्फ लैजान लागिएको ठूलो परिमाणको फर्सीको बीउ भैरहवा भन्सार कार्यालयले बरामद गरेको छ ।
भारततर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट एचआर ३८ एए २८३४ को ट्रकलाई बेलहिया सीमानाकामा चेकजाँच गर्ने क्रममा करिब ९ हजार किलो फर्सीको बीउ फेला परेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार सीमावर्ती भारतीय क्षेत्रमा फर्सीको बीउ अवैध रूपमा पुग्ने घटना बढेपछि नाकामा निगरानी बढाइएको थियो। सोही क्रममा ट्रक रोकेर जाँच गर्दा बीउ ओसारपसारका लागि आवश्यक कागजात नभएको पाइएपछि ट्रक र बीउ नियन्त्रणमा लिइएको उनले बताए ।
चेकजाँच भइरहेको अवस्थामा ट्रक चालक भने सवारीसाधन छाडेर फरार भएको भन्सार कार्यालयले जनाएको छ। बरामद बीउ र ट्रकका विषयमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।
यसअघि पनि रुपन्देही र कपिलवस्तुका सीमावर्ती नाकाबाट ठूलो परिमाणमा फर्सीको बीउ अवैध रूपमा भारततर्फ लैजाने प्रयास भएका घटना सार्वजनिक भएका थिए। केही दिनअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले रुपन्देही नाकाबाट भारततर्फ पुगेको करिब ६ हजार ४० किलो फर्सीको बीउसहित दुईजनालाई नौतनवा क्षेत्रमा नियन्त्रणमा लिएको थियो ।
यस्तै, कपिलवस्तुको नाकाबाट भारततर्फ पुगेका दुईवटा भारतीय ट्रकबाट समेत करिब १३ हजार ४ सय किलो फर्सीको बीउ तथा ओखर बरामद भएको भारतीय भन्सार कार्यालयले जनाएको थियो ।
लगातारका घटनाले रुपन्देही र कपिलवस्तुका सीमावर्ती नाकाबाट फर्सीको बीउ अवैध रूपमा भारततर्फ लैजाने गतिविधि बढेको देखिएको छ। भन्सार कार्यालयले यस्ता गतिविधि नियन्त्रणका लागि सीमाक्षेत्रमा निगरानी थप कडा बनाइएको जनाएको छ ।
चाडपर्व नजिकिँदै गर्दा सीमावर्ती क्षेत्रमा विभिन्न वस्तुको अवैध ओसारपसार बढ्न सक्ने भएकाले सुरक्षा निकाय तथा भन्सार कार्यालयले नाकामा चेकजाँच र निगरानीलाई थप प्रभावकारी बनाउने तयारी गरेका छन् ।