आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वको वर्तमान सरकारको कार्यशैलीप्रति कटाक्ष गरेका छन्। उनले सरकार बाहिरबाट ठीकठाक देखिए पनि परिणामविहीन बनेको आरोप लगाए।
कमलादीमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै साहले भने, “चारैतिर घण्टी बजेको छ, तर आवाज कतै सुनिँदैन। संख्या ठूलो छ, तर परिणाम शून्य छ। सरकार आफ्नै दुईतिहाइको बोझले थिचिएको छ।”
प्लास्टिकको कृत्रिम गुलाफ देखाउँदै उनले वर्तमान सरकारलाई “नक्कली र छद्मभेषी” सरकारको संज्ञा दिए। सरकार जनजी आन्दोलनका घाइते, सहिद परिवार र युवाप्रति जिम्मेवार नभएको उनको आरोप थियो।
साहले देशमा कर आतंक, महँगी, कालोबजारी र सेवा लिन नागरिकले भोग्नुपरेको सास्ती बढेको बताए। किसानले मल, बीउ र उत्पादनको उचित मूल्य नपाएको तथा राज्यका निकायहरू आफ्नो जिम्मेवारीबाट विचलित भएको उनको दाबी थियो।
उनले सरकार असफल भइसकेको दाबी गर्दै देशलाई संकटबाट मुक्त गर्न आजपाले “अग्रगामी मोर्चा’ निर्माण गरी नयाँ राजनीतिक दिशा तय गर्ने बताए।