भन्सार ड्युटी सकाएर फर्किने क्रममा सुरक्षामा खटिएका दुई निकायबीच उत्पन्न विवादले उग्ररूप लिँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानबीच हात हालाहाल भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ घटेको यो घटनाले केही समय भन्सार क्षेत्रमा तनाव सिर्जना भएको थियो।
प्रहरी स्रोतका अनुसार, सशस्त्र प्रहरीका कर्मचारीहरू आफ्नो भन्सार ड्युटी सकिएर बाहिर निस्कने क्रममा आगमनतर्फको भन्सार क्षेत्रमा रहेको प्रहरीको वाकथ्रु मेसिनमा प्रवेश गरेका थिए। सोही बेला नेपाल प्रहरीले ड्युटीमा रहेका सशस्त्र प्रहरीका कर्मचारीलाई नियमित सुरक्षा जाँच गर्नेक्रममा विवाद उत्पन्न भएको हो। उनीहरुबीच जाँच गर्ने तरिकालाई लिएर विवाद सिर्जना भएको हो।
हातले प्रत्यक्ष चेकजाँच नगरी केवल मेटल डिटेक्टरले मात्र जाँच गर्नुपर्ने विषयमा दुई पक्षबीच भनाभन भएको थियो। सुरक्षा स्रोतका अनुसार यही विवादले चर्कोरूप लिँदा सशस्त्र प्रहरी बलकी जवान सुजता परियार र नेपाल प्रहरीकी जवान सुनीता रोकायाबीच हात हालाहालको स्थिति सिर्जना भएको थियो।
घटनालगत्तै घटनास्थलमा रहेका अन्य सुरक्षाकर्मी र उच्च अधिकारीहरूले स्थिति थप बिग्रन दिएनन्। दुवै पक्षका जिम्मेवार अधिकारीहरूले तत्काल हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले बताएका छन्।
दुवै निकायका अधिकारीले घटनाको विषयमा आपसमा छलफल गरी थप अध्ययन तथा आन्तरिक छानबिन गरिरहेको छ। सुरक्षाकर्मीहरूजस्तो संवेदनशील निकायबीच सामान्य प्रक्रियागत विषयलाई लिएर भएको विवादले सुरक्षा संयन्त्रभित्र समन्वयको आवश्यकतालाई पुनः एकपटक उजागर गरेको छ।