सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान सरकार ढल्ने भन्दै भइरहेका टिप्पणीप्रति व्यङ्ग्य गर्दै सरकार नढल्ने दाबी गरेका छन् ।
आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले सरकार अस्थिर हुने भन्दै भइरहेका टीकाटिप्पणीप्रति कटाक्ष गरेका हुन् । उनले वर्तमान सरकार कुनै व्यक्ति वा तत्कालीन राजनीतिक स्वार्थका लागि नभई इतिहास बदल्ने र विद्यमान प्रणालीमा सुधार गर्ने उद्देश्यसहित गठन भएको दाबी गरे । सरकार लोकतान्त्रिक मूल्य, विधि र मान्यतालाई आत्मसात् गर्दै अघि बढिरहेको उनको भनाइ थियो ।
लामिछानेले भने, ‘सुनिन्छ, सरकार अब ढल्छ, दशैँमा ढल्छ, तिहारमा ढल्छ, छठमा ढल्छ। म स्पष्ट भन्छु, सरकार ढल्दैन। सरकार ढल्छ भन्नेहरू नै सरकार नढलेको देखेर ढल्न सक्छन्, तर सरकार ढल्दैन ।’ उनले लोकतन्त्रलाई कुनै खतरा नरहेको दाबी गर्दै लोकतन्त्रमाथि संकट आए त्यसको रक्षा नेपाली जनताले नै गर्ने बताए ।
लामिछानेले आफूहरूले व्यक्तिलाई केन्द्रमा राखेर नभई इतिहासलाई साक्षी राखेर मुलुकको राजनीतिक प्रणाली सुधार गर्ने लक्ष्यसहित सरकार गठन गरेको जिकिर गरे। लोकतन्त्रको नाममा विधि, मूल्य र मान्यतालाई मिच्ने काम आफ्नो पार्टीबाट नहुने पनि उनले स्पष्ट पारे।
यसअघि संसद्मा आफूले व्यक्त गरेको धारणा स्मरण गर्दै लामिछानेले दुई ठूला दल कुनै स्पष्ट उद्देश्य वा राष्ट्रिय संकटबिना एक ठाउँमा आउँदा त्यसले राजनीतिक संकट निम्त्याउने गरेको दाबी गरे।
उनले वर्तमान राजनीतिक परिस्थितिमा सरकारको स्थायित्वसँगै लोकतान्त्रिक व्यवस्था, विधिको शासन र राजनीतिक प्रणालीमा सुधार आवश्यक रहेको बताए। राजनीतिक दलहरूले सत्ता केन्द्रित गतिविधिभन्दा जनताको अपेक्षा र मुलुकको दीर्घकालीन हितलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।