अमेरिकाले सुरक्षा जोखिम बढेपछि बेलायतमा रहेको सैन्य हवाई अड्डाबाट आफ्ना सबै सैन्य विमान फिर्ता गरेको छ। बेलायती हवाई अड्डालाई लक्षित गरी सम्भावित आतंकवादी आक्रमणको योजना बनाइएको आशंका भएपछि अमेरिकी पक्षले यस्तो कदम चालेको हो ।
अमेरिकी अधिकारीहरूका अनुसार बेलायतमा करिब एक दर्जन अमेरिकी सैन्य विमान तैनाथ थिए। अमेरिकी रक्षा मन्त्रालयले ती सबै विमानलाई सुरक्षित रूपमा अमेरिकास्थित सैन्य अड्डामा फिर्ता लगिसकिएको पुष्टि गरेको छ।
बेलायती हवाई अड्डामाथि सम्भावित आक्रमणको योजना बनाएको आशंकामा ६ जना संदिग्ध पक्राउ परेपछि अमेरिकी तथा बेलायती सुरक्षा निकायले हवाई अड्डाको सुरक्षा अवस्थाबारे पुनः मूल्याङ्कन गरेका थिए। अधिकारीहरूले सम्भावित आक्रमणको प्रयासलाई समयमै निष्क्रिय पारिएको बताएका छन् ।
अमेरिकी रक्षा मन्त्रालयले सैन्य सुरक्षासँग सम्बन्धित संवेदनशीलताका कारण विमानहरूको आवतजावतबारे तत्काल जानकारी सार्वजनिक नगरिएको स्पष्ट पारेको छ। सबै विमान सुरक्षित रूपमा अमेरिका फर्किएपछि मात्र उनीहरूको फिर्तीबारे औपचारिक जानकारी दिइएको हो ।
यस घटनापछि बेलायतस्थित अमेरिकी सैन्य प्रतिष्ठानको सुरक्षा व्यवस्थालाई थप कडाइ गरिएको बताइएको छ ।