नेपाल प्रवेश गर्न लागेका एक भारतीय नागरिक पेस्तोल, म्यागजिन र गोलीसहित पक्राउ परेका छन्। नेपाल–भारत सीमावर्ती काँकडभिट्टा–पानीट्यांकीस्थित नयाँ पुलबाट सिक्किमका ताशी पाल्की भुटिया पक्राउ परेका हुन् ।
सशस्त्र सीमा बल (एसएसबी) ४१औँ बटालियनको बीआईटी टोलीले आइतबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको सवारीसाधन जाँच गर्ने क्रममा भुटियालाई नियन्त्रणमा लिएको जनाएको छ ।
एसके ०२ पी ४८०० नम्बरको गाडीमा नेपाल प्रवेश गर्न लागेका भुटियाको झोला खानतलासी गर्दा ०.३२ क्यालिबरको एक थान पेस्तोल, दुई थान म्यागजिन, ७.६५ एमएमका ४९ राउन्ड गोली र एक थान खोका बरामद भएको एसएसबीले जनाएको छ ।
भुटियाले आफू ‘गुरुजी’लाई लिन काँकडभिट्टा नाकासम्म जान लागेको बताएका थिए। उनले हतियारको इजाजतपत्रसमेत देखाएका थिए। तर, उक्त इजाजतपत्रमा पेस्तोल सिक्किम र पश्चिम बंगालमा मात्र प्रयोग गर्न पाउने उल्लेख रहेको पाइएको एसएसबीको भनाइ छ ।
इजाजतपत्रअनुसार अन्य क्षेत्रमा हतियार लैजान नमिल्ने देखिएपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ। पक्राउ परेका भुटियालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि एसएसबीले खोरीबारी प्रहरी थानामा बुझाएको छ ।