सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न न्याय परिषद्को बैठक मंगलबार बस्ने भएको छ ।
प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष मनोजकुमार शर्माले मंगलबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल हुने बताइएको ।
हाल सर्वोच्च अदालतमा चार न्यायाधीशको पद रिक्त छ। यसैबीच न्यायाधीश विनोद शर्मा आगामी कात्तिक १४ गते ६५ वर्षे उमेर हदका कारण अवकाशमा जाने भएकाले त्यसपछि रिक्त पदको संख्या पाँच पुग्नेछ ।
न्याय परिषद् ऐन, २०७३ अनुसार उमेर हदका कारण रिक्त हुने सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि नै सिफारिस गर्नुपर्ने व्यवस्था छ ।
यसै व्यवस्थाअनुसार मंगलबारको बैठकमा सर्वोच्चमा एकैपटक पाँच जना न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने वा हाल रिक्त चार पदका लागि मात्रै सिफारिस गर्ने भन्ने विषयमा छलफल हुने परिषद् स्रोतले जनाएको छ ।
त्यस्तै, सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा जिल्ला तथा उच्च अदालतमा न्यायाधीशका रूपमा काम गरिसकेकालाई प्राथमिकता दिने वा कानुन व्यवसायीबाट समेत नियुक्त गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।
परिषद् स्रोतका अनुसार कुन क्षेत्रबाट कति जनालाई नियुक्तिका लागि सिफारिस गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल सुरु हुनेछ ।
प्रधानन्यायाधीश शर्माको अध्यक्षतामा रहेको पाँच सदस्यीय न्याय परिषद्मा कानुनमन्त्री सोविता गौतम, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा सदस्यहरू महेशकुमार नेपाल र दामोदर खड्का रहेका छन् ।