गोप्य तथा संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन प्रक्रिया अघि बढाइएको छ ।
गृह मन्त्रालयले दाहालमाथि लागेको आरोपबारे अनुसन्धान गर्न सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकस्थित मानव स्रोत विभागमा कार्यरत एआईजी अन्जनीकुमार पोखरेललाई जिम्मेवारी दिएको हो। छानबिन समितिमा पोखरेल मात्रै सदस्य रहेका छन् ।
सशस्त्र प्रहरी नियमावलीमा रहेको व्यवस्थाअनुसार दाहालमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न पोखरेललाई जिम्मेवारी दिइएको गृह मन्त्रालय स्रोतले जनाएको छ। छानबिनका लागि तीन दिनको समय तोकिएको छ।
दाहालमाथि गोप्य सूचना बाहिर पुर्याएको आरोपसँगै विभिन्न व्यक्तिसँग सम्पर्क तथा भेटघाट गरेको विषय पनि अनुसन्धानको दायरामा रहेको बताइएको छ। उनीमाथि लागेको आरोप पुष्टि भए वा नभएको विषय छानबिनपछि प्राप्त प्रतिवेदनका आधारमा निर्णय हुने जनाइएको छ ।
छानबिनको क्रममा दाहालसँग सम्बन्धित सूचना, सम्पर्क र गतिविधिबारे आवश्यक विवरण संकलन गरिनेछ। तीन दिनभित्र प्रतिवेदन बुझाएपछि त्यसकै आधारमा थप कारबाही प्रक्रिया अघि बढाइने गृह मन्त्रालयको तयारी छ।
निलम्बनमा परेका दाहाल यसअघि सशस्त्र प्रहरी बलको सीमा विभाग प्रमुखका रूपमा कार्यरत थिए। उनको एआईजी पदावधि सकिन केही समय मात्रै बाँकी थियो ।
सशस्त्र प्रहरी नियमावली, २०७२ अनुसार एआईजीको पदावधि चार वर्षको हुन्छ। दाहाल २०७९ वैशाख २८ गते एआईजीमा बढुवा भएका थिए। नियमअनुसार उनको चार वर्षे पदावधि सकिएपछि अनिवार्य अवकाशमा जाने अवस्था थियो।
यद्यपि, नियमावलीले सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले एआईजीको पदावधि थप एक वर्ष बढाउन सक्ने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार दाहालको पदावधि थपका लागि सशस्त्र प्रहरी मुख्यालयबाट गृह मन्त्रालयमा सिफारिससमेत गरिएको थियो ।
तर, पदावधि थपसम्बन्धी प्रक्रिया अघि बढिरहेका बेला गोप्य सूचना चुहाएको आरोपमा दाहाल निलम्बनमा परेपछि उनको पदावधि र भविष्यको जिम्मेवारीसम्बन्धी विषयसमेत थप अन्योलमा परेको छ ।