दसैँ, तिहार नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेश फर्किन थालेका छन् । भारतको नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश, सिम्ला, कुल्लुलगायत सहरबाट नेपाली फर्किन थालेपछि नेपालगञ्जस्थित जमुनाहा नाकामा यात्रुको चाप बढेको छ ।
इलाका प्रहरी कार्यालय जमुनाहाका अनुसार अहिले दैनिक पाँच हजारभन्दा बढी नेपाली भारतबाट नेपाल प्रवेश गरिरहेका छन् । चाडपर्व नजिकिँदै जाँदा स्वदेश फर्किनेको सङ्ख्या अझ बढ्ने प्रहरीको अनुमान छ ।
भारतमा वर्षौँदेखि रोजगारी गर्दै आएका नेपालीका लागि दसैँ–तिहार परिवारसँग भेटघाट गर्ने प्रमुख अवसर बनेको छ । दैलेखका ५७ वर्षीय हेमन्त थापा करिब पाँच वर्षपछि दसैँ मनाउन घर फर्किएका छन् । उनी भारतको सिम्लामा स्याउ टिप्ने काम गर्दै आएका थिए ।
गाउँमा पर्याप्त रोजगारी नहुँदा भारत जानुपरेको बताउँदै थापाले लामो समयपछि परिवारसँग चाडपर्व मनाउन पाउँदा खुसी लागेको बताए । उनका अनुसार विगतको तुलनामा जमुनाहा नाकाको चेकजाँच र व्यवस्थापनसमेत व्यवस्थित भएको छ ।
त्यस्तै, जाजरकोटको नलगाड नगरपालिका–४ की गङ्गाधरा केसी पनि करिब आठ वर्षपछि छोराछोरीसहित घर फर्किएकी छन् । नेपालमा गिट्टी–बालुवा बोक्ने तथा ठेलामा चटपटे बेच्ने काम गरे पनि पर्याप्त आम्दानी नभएपछि उनी छोराछोरीसहित भारतको कुल्लु पुगेकी थिइन् ।
भारतमा लामो समय काम गरेपछि यसपटक छोराछोरीसँगै गाउँमा दसैँ मनाउन पाउँदा खुसी लागेको उनले बताइन् ।
बर्दियाका गोपाल थापा पनि १८ वर्षदेखि भारतमा रोजगारी गर्दै आएका छन् । उनी हरेक वर्षजस्तै यसपटक पनि दसैँ–तिहार मनाउन घर फर्किएका हुन् । जमुनाहा नाकामा सञ्चालन गरिएको यात्रु सहायता कक्षले यात्रा सहज बनाएको उनले बताए ।
चाडपर्वका बेला भारतबाट ठूलो सङ्ख्यामा नेपाली फर्किने भएकाले जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो । सहायता कक्षमार्फत यात्रुलाई गन्तव्य, यातायात तथा आवश्यक सुरक्षासम्बन्धी जानकारी र सहयोग उपलब्ध गराइँदै आएको छ ।
भारतबाट फर्किने यात्रुको चाप बढेसँगै जमुनाहा तथा रुपैडिया क्षेत्रमा सुरक्षा निगरानीसमेत बढाइएको छ । यात्रुलाई ठगी, लुटपाट तथा अन्य आपराधिक गतिविधिबाट जोगाउन प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक राजनप्रसाद भट्टराईले बताए ।
विशेषगरी रिक्सा, ई–रिक्सा, बस तथा होटल व्यवसायीबाट यात्रु ठगिन सक्ने भएकाले त्यस्ता गतिविधिमाथि निगरानी बढाइएको प्रहरीले जनाएको छ । रातिको समयमा रुपैडिया पुग्ने नेपाली यात्रुलाई सुरक्षित रूपमा नेपाल प्रवेश गराउन भारतीय प्रहरीसँगसमेत समन्वय गरिएको छ ।
यसैबीच, सुर्खेतको रामघाट फर्किएका रमेश विकले गत वर्षको जेनजी आन्दोलनका कारण दसैँमा घर आउन नसकेको बताए । यसपटक भने समयमै घर फर्किएर परिवार तथा आफन्तसँग दसैँ मनाउने उनको इच्छा छ ।
वर्षभरि भारतमा रोजगारी गरेर परिवारको खर्च धान्ने नेपालीका लागि दसैँ–तिहार केवल चाडपर्व नभई लामो समयदेखि टाढा रहेका परिवारसँग पुनर्मिलन हुने अवसरसमेत बनेको छ । जमुनाहा नाकामा अहिले झोला, कपडा र बालबालिकासहित घर फर्किरहेका नेपालीको भीड देखिन थालेको छ ।
सीमा नाकामा यात्रुको चाप बढ्दै गए पनि यात्रुको सुरक्षा र सहज आवागमनका लागि प्रहरी, प्रशासन तथा सम्बन्धित निकायले समन्वय बढाएका छन् ।