चाडपर्वको मौका छोपेर आन्तरिक हवाई भाडा अस्वाभाविक रूपमा बढाइएको गुनासो बढेपछि वायुसेवा कम्पनीहरू स्वीकृत अधिकतम भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिहरूसँग गरेको छलफलमा यात्रुलाई राहत पुग्ने गरी स्वीकृत अधिकतम भाडादरभन्दा कम मूल्यमा टिकट बिक्री गर्ने सहमति भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको सक्रियतामा क्यानले वायुसेवा कम्पनीहरूसँग छलफल गरेको थियो ।
सहमतिअनुसार हवाई टिकटको भाडादर सर्वसाधारणले सहजै जानकारी पाउने गरी सम्बन्धित वायुसेवा कम्पनीका आधिकारिक वेबसाइट तथा मोबाइल एपमा अनिवार्य रूपमा प्रकाशन गर्नुपर्नेछ। यसले यात्रुलाई टिकटको मूल्यबारे स्पष्ट जानकारी पाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
चाडपर्वका बेला घर फर्किने यात्रुको चाप बढेको मौका छोपेर वायुसेवा कम्पनीहरूले अत्यधिक भाडा असुल्न थालेको भन्दै गुनासो बढेपछि सरकारले यस विषयमा चासो देखाएको हो ।
नेपालमा आन्तरिक हवाई सेवाको न्यूनतमदेखि अधिकतम भाडादर तत्कालीन पर्यटनमन्त्रीस्तरीय निर्णयबाट २०७२ साल मंसिर २७ गते निर्धारण गरिएको थियो। सोही स्वीकृत भाडादरलाई आधार मानेर यात्रुलाई सहुलियतमा टिकट उपलब्ध गराउने सहमति भएको जनाइएको छ ।
अब चाडपर्वका बेला हवाई यात्रुले कति सस्तोमा टिकट पाउँछन् र वायुसेवा कम्पनीहरूले सहमति कत्तिको कार्यान्वयन गर्छन् भन्ने विषय महत्त्वपूर्ण हुनेछ ।