श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ ।
कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो प्राप्त भइरहेपछि विभागले यस्तो निर्देशन दिएको हो। विभागले कानुनअनुसार श्रमिकलाई पाउनुपर्ने सुविधा उपलब्ध गराउन र त्यसको कार्यान्वयन सुनिश्चित गर्न रोजगारदातालाई आग्रह गरेको छ ।
श्रम ऐन, २०७४ को दफा ३७ मा प्रत्येक श्रमिकले प्रचलित धर्म, संस्कृति तथा परम्पराअनुसार मनाइने चाडपर्वका लागि आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने व्यवस्था छ ।
विभागले रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा सम्बन्धित श्रमिक वा कामदारलाई आफ्नो कार्यक्षेत्र पर्ने श्रम तथा रोजगार कार्यालय वा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी तथा निवेदन दिन अनुरोध गरेको छ ।
त्यस्तै, विभागले इमेलमार्फत उजुरी, गुनासो तथा सुझाव पठाउन सकिने व्यवस्था गरेको जनाएको छ। यसका लागि क्यूआर कोडको समेत व्यवस्था गरिएको छ ।
विभागका प्रवक्ता मणिनाथ गोपका अनुसार केही रोजगारदाता तथा प्रतिष्ठानबाट चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आइरहेको छ। त्यस्ता प्रतिष्ठानलाई श्रमिकले पाउनुपर्ने सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन भनिएको उनले बताए ।
कानुनअनुसार चाडपर्व खर्च उपलब्ध नगराउने रोजगारदाता तथा प्रतिष्ठानमाथि श्रम ऐनबमोजिम कारबाही गरिने विभागले स्पष्ट पारेको छ।