१. दरबन्दीभन्दा बढी कर्मचारी यातायात कार्यालयमा, प्रदेश सरकारको नीतिमाथि प्रश्न
मधेश प्रदेश सरकारले कर्मचारी कटौती र दरबन्दी मिलानको नीति अघि सारे पनि यातायात व्यवस्था कार्यालयहरूमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको दाबी गरिएको छ। जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयमा २१ जनाको दरबन्दी रहे पनि २४ जना कर्मचारी कार्यरत छन्। यस्तै, सर्लाहीको मलङ्गवा यातायात कार्यालयमा सहायक शाखा अधिकृतका दुई दरबन्दीमा तीन जना कार्यरत रहेको बताइएको छ। कर्मचारी सरुवा र पदस्थापनका निर्णय भइरहेका बेला एउटै कार्यालयमा वर्षौँदेखि कर्मचारी कार्यरत रहनु र दरबन्दीभन्दा बढी कर्मचारी राखिनुको कारणबारे प्रश्न उठेको छ।
२. मधेश प्रदेशसभाको रिक्त समानुपातिक सांसद पदमा नाजमा खातुनलाई पठाउने एमालेको निर्णय
नेकपा एमालेले मधेश प्रदेशसभाको रिक्त समानुपातिक सांसद पदमा नाजमा खातुनलाई सिफारिस गर्ने निर्णय गरेको छ। च्यासलमा बसेको पार्टीको स्थायी कमिटी बैठकले खातुनको नाम सिफारिस गर्ने निर्णय गरेको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्। पार्टीको समानुपातिक बन्दसूचीमा ४०औँ स्थानमा रहेकी खातुनलाई सांसद बनाउन लागिएको हो। यसअघि समानुपातिक सांसद जैनब खातुनको निधन भएपछि उक्त पद रिक्त भएको थियो।
३. रौतहटमा तीन महिनामा १३५ प्रतिवादी पक्राउ, सडक दुर्घटनामा १२ जनाको मृत्यु
रौतहट प्रहरीले आर्थिक वर्ष २०८३/८४ को असोज २० गतेसम्म १३५ जना प्रतिवादी पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि असोज २० गतेसम्म २५१ वटा मुद्दा दर्ता भएका छन्, जसमध्ये १५६ वटा फर्छ्योट भएका छन्। यस अवधिमा भन्सार छलीका सामानबाट ५७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। जिल्लामा १८१ वटा सवारी दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने ३६५ जना घाइते भएका छन्।
४. सिरहामा अवैध उत्खननविरुद्ध प्रहरीको कारबाही, ६ टिपर र जेसीबी नियन्त्रणमा
सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको अवस्थामा प्रहरीले ६ वटा टिपर र एउटा जेसीबी नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गोलबजार नगरपालिका–१ स्थित बलडारा मुक्सारमा बिहीबार राति सहदेव यादवको जग्गामा अवैध उत्खनन भइरहेको सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। प्रहरी टोली घटनास्थल पुग्दा टिपरका चालकहरू फरार भएका थिए। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
५. दुई जिल्लाका ३८ स्थानीय तहको खाद्य बजार अनुगमन गर्ने कार्यालयमा दुई कर्मचारी मात्रै
सर्लाही र रौतहटका ३८ स्थानीय तहको खाद्य बजार अनुगमन गर्ने जिम्मेवारी पाएको मलङ्गवास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कर्मचारी अभावमा समस्यामा परेको छ। दुई जिल्लाको जिम्मेवारी सम्हाल्ने कार्यालयमा निमित्त प्रमुख नायब सुब्बा दिनेश ढुङ्गाना र एक जना कार्यालय सहयोगी मात्रै कार्यरत छन्। कार्यालय प्रमुखको पद गत वैशाखदेखि रिक्त छ भने अर्की कर्मचारी सुत्केरी बिदामा छिन्। जनशक्ति अभावका कारण नियमित बजार अनुगमन तथा खाद्य गुणस्तर नियन्त्रणमा कठिनाइ भइरहेको छ। नागरिक समाजले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको कार्यालयमा पर्याप्त कर्मचारी र प्राविधिक जनशक्ति तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
६. धनुषामा पाँच लाख रुपैयाँ बराबरको अवैध सामान बरामद, दुई मोटरसाइकल नियन्त्रणमा
धनुषाको औरही गाउँपालिका–५ स्थित हरुसाहा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब पाँच लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले रजनीगन्धा, राजनिवास, विभिन्न किराना सामान, प्रतिबन्धित पटका तथा ओसारपसारमा प्रयोग गरिएका दुईवटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। प्रहरी टोलीलाई देखेपछि सामान ओसारपसारमा संलग्न व्यक्तिहरू फरार भएका छन्। बरामद सामान र मोटरसाइकल आवश्यक कारबाहीका लागि राजस्व तथा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
७. जीतपुरसिमरामा चाडपर्वको सजावट र खरिदको जिम्मेवारी वडा कार्यालयलाई
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले विजया दशमी, दीपावली र छठ पर्वलक्षित सजावट, पूजाआजा तथा सामग्री खरिदको जिम्मेवारी वडा कार्यालयलाई दिएको छ। उपमहानगरपालिकाले २४ वटै वडा कार्यालयलाई पत्राचार गर्दै चाडपर्वसम्बन्धी खर्च तथा खरिद प्रक्रिया वडास्तरबाटै सञ्चालन गर्न अख्तियारी दिएको हो। नयाँ व्यवस्थाअनुसार एक लाख रुपैयाँसम्मको काम सोझै खरिद गर्न सकिनेछ भने एक लाखदेखि १५ लाख रुपैयाँसम्मको खरिदमा कम्तीमा तीनवटा फर्म वा कम्पनीसँग दररेट माग्नुपर्नेछ।
८. पर्सामा १५ लाखभन्दा बढीको अवैध सामान बरामद, औषधि र कपडा पनि नियन्त्रणमा
पर्सामा सशस्त्र प्रहरीले १५ लाख २८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६ स्थित भुटनदेवी मन्दिर र इनर्वा सीमा क्षेत्रबाट औषधि, तरकारी, कपडा तथा जुत्ता बरामद गरिएको हो। त्यस्तै, जगरनाथपुर गाउँपालिका–२ स्थित लक्ष्मीपुर चोकबाट समेत मोटरसाइकलसहित भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिइएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले जानकारी दिएका छन्।