नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको हो ।महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ। यसअघि हिजो सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
त्यसअघि गत शुक्रबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँ र बिहीबार ५ सय रुपैयाँले बढेको थियो। त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर ४ हजार ४ सय १५ रुपैयाँ कायम भएको छ । यसअघि गत माघ १५ गते सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै उच्च हो।
त्यस्तै, गत माघ १५ गते चाँदीको मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। यो नेपाली बजारमा चाँदीको हालसम्मकै उच्च मूल्य हो ।यसैबीच, गत माघ १८ गते चाँदीको मूल्य तोलामा १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट पनि हालसम्मकै उच्च गिरावटमध्ये एक हो ।