वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित कैलाश होटलमा भएको कुटपिट प्रकरणमा पक्राउ परेका दीपक तिवारीलाई प्रहरीले सात दिनको म्याद थप गरेको छ ।
कुटपिटबाट पीडित भएको दाबी गर्ने अंकित जालानले तिवारीसहित पाँच जनाविरुद्ध अपहरण, कुटपिट तथा लुटपाटको आरोप लगाउँदै पर्सा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयमा हुलाकमार्फत जाहेरी दिएका छन् ।
जालानका अनुसार गत कात्तिक ६ गते राति करिब ९ बजे कैलाश होटलको रेस्टुरेन्टमा खाजा खाइरहेका बेला सन्दीप तुल्सियान, दीपक तिवारी, धिरज अग्रवाल, सिताराम सिंह र राकेश राजलगायतका व्यक्तिले आफूलाई घेरा हालेर नियन्त्रणमा लिएका थिए । त्यसपछि गालीगलौज गर्दै हात, लात र मुक्काले कुटपिट गरेको आरोप उनले जाहेरीमा लगाएका छन् ।
जालानले आफूलाई होटलबाट मोटरसाइकलमा राखेर विभिन्न स्थान हुँदै जगरनाथपुर पुर्याइएको र त्यहाँ पनि कुटपिट गरेको दाबी गरेका छन् । उनका अनुसार घटनाका क्रममा आफ्नो आइफोन १६ प्रो मोबाइल फुटाइएको, घाँटीमा लगाएको दुई तोलाको सुनको सिक्री खोसिएको तथा नेपाली नागरिकताको प्रतिलिपि समेत लगिएको छ ।
घटनाबारे कसैलाई जानकारी दिए वीरगञ्ज आउँदा ज्यान मार्ने धम्कीसमेत दिइएको जालानको आरोप छ । जाहेरीमा उनले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्नमाथि कारबाही गर्न र लुटिएको भनिएका सामानको क्षतिपूर्ति समेत उपलब्ध गराउन माग गरेका छन् ।
जालानका अनुसार आरोपित पाँच जनामध्ये प्रहरीले दीपक तिवारीलाई मात्रै पक्राउ गरेको छ भने, सन्दीप तुल्सियान, धिरज अग्रवाल, सिताराम सिंह र राकेश राज फरार रहेका छन् । अन्य आरोपित माथि कारबाही नभएको भन्दै उनले सोमबार हुलाकमार्फत प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय पर्सामा जाहेरी पठाएका हुन् ।
यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार तिवारीमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए । प्रवक्ता मल्लले घटनासम्बन्धी अन्य कुनै जाहेरी प्राप्त नभएको पनि जानकारी दिएका छन् ।