राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी संगठन सुदृढीकरण र आसन्न स्थानीय तह निर्वाचनको तयारीलाई लक्षित गर्दै ११ जिल्लाको भ्रमण गर्ने भएको छ ।
राप्रपाका पूर्वअध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनी तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले संयुक्त रूपमा जिल्ला भ्रमण गर्न लागेका हुन् । कार्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण झापामा पुगेर सम्पन्न हुनेछ । भ्रमणका क्रममा पर्सापछि बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र मोरङ हुँदै झापा पुग्ने कार्यक्रम तय भएको नेता कमल थापाले जानकारी दिएका छन् ।
भ्रमणको तालिका सार्वजनिक गर्दै थापाले पार्टी संगठन सुदृढीकरण, आसन्न स्थानीय तह निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक अवस्थाबारे पार्टीका नेता तथा कार्यकर्तासँग बृहत् अन्तरक्रिया गर्ने उद्देश्यले जिल्ला भ्रमण गर्न लागिएको बताएका छन् ।
उनले भ्रमणका क्रममा सम्बन्धित जिल्लाका पार्टी नेता तथा कार्यकर्तालाई उपस्थित हुन आग्रहसमेत गरेका छन् ।