पर्सा जिल्ला प्रशासन कार्यालयले होली पर्व मर्यादित र अनुशासित रूपमा मनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सार्वजनिक सूचना जारी गर्दै फागु (होली) पर्व मनाउने क्रममा जबरजस्ती रंग दल्ने, जथाभावी अबिर फाल्ने, हो-हल्ला गर्ने, लोला हान्ने, उच्छृंखल व्यवहार गर्ने तथा अमर्यादित क्रियाकलाप नगर्न अनुरोध गरेका छन् ।
प्रजिअ अर्यालले सामाजिक सद्भाव कायम राख्दै सांस्कृतिक पर्वलाई मर्यादित ढंगले मनाउन सबैलाई सचेत गराएका छन् । उनले कसैको इच्छा विपरीत र कानुनविपरीतको गतिविधि गरेमा प्रचलित कानूनअनुसार कारबाही हुने चेतावनी दिएका छन् ।
सार्वजनिक सूचनामा प्रशासनको निर्देशन:
- जबरजस्ती रंग छ्याप्ने, लोला हान्ने, उच्छृंखल गतिविधि नगर्नु ।
- कसैको इच्छा विपरीत अबिर वा रंग लगाउन नपाइने ।
- चर्को आवाजमा डिजे बजाउन नपाइने ।
- मर्यादित रूपमा होली पर्व मनाउन स्थानीय प्रशासनको अनुरोध ।
होली पर्वको अवसरमा सार्वजनिक शान्ति र सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकायलाई विशेष निगरानी गर्न निर्देशन दिएको छ । पर्सा प्रहरीले मुख्य चोक, बजार क्षेत्र, र संवेदनशील स्थानहरूमा सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरिरहेको छ ।
प्रशासनले होली पर्वलाई मर्यादित, व्यवस्थित र सौहार्दपूर्ण रूपमा मनाउन आम नागरिकसँग अपिल गरेको छ । उल्लङ्घन गर्नेहरूलाई कानुनी दायरामा ल्याइने प्रशासनले स्पष्ट पारेको छ ।