राष्ट्रिय कर दिवसको अवसरमा सरकारले विभिन्न १९ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्कृष्ट करदाताहरूलाई सम्मान गरेका हुन् ।
यस वर्ष सरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान प्रदान गरेको छ । प्रतिकूल परिस्थितिका बाबजुद व्यवसायलाई निरन्तरता दिँदै राजस्वमा योगदान पुर्याउनुका साथै रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै भाटभटेनीलाई विशेष सम्मान गरिएको हो ।
२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा स्टोरमा आगजनी, लुटपाट तथा तोडफोड भएको थियो। उक्त घटनाबाट कम्पनीलाई अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको थियो ।
ठूलो क्षति व्यहोर्नुपरे पनि कम्पनीले कुनै पनि कर्मचारीको रोजगारी नगुमाई पुनः लगानीमार्फत अधिकांश स्टोर सञ्चालनमा ल्याएको जनाएको छ । प्रतिकूल अवस्थामा समेत व्यवसाय सञ्चालनलाई निरन्तरता दिएको र रोजगारी संरक्षणमा योगदान पुर्याएको भन्दै सरकारले कम्पनीलाई विशेष सम्मान गरेको हो ।
व्यक्तिगततर्फ राजबहादुर शाह, संस्थागततर्फ सूर्य नेपाल सम्मानित
राष्ट्रिय कर दिवसका अवसरमा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी आयकर तिर्ने करदाताका रूपमा राजबहादुर शाह सम्मानित भएका छन् ।
त्यस्तै, संस्थागततर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा सूर्य नेपाल प्रालि सम्मानित भएको छ ।
सरकारले प्रत्येक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ। कर दिवसका अवसरमा कर तिर्ने संस्कृतिलाई प्रोत्साहन गर्ने तथा राज्यको राजस्वमा योगदान पुर्याउने उत्कृष्ट करदाता र संस्थालाई विभिन्न विधामा सम्मान गर्दै आएको छ ।