सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।
कार्कीले गत २० कात्तिकमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए । त्यसपछि सर्वोच्चले तिहार बिदापछि ३० कात्तिकका लागि सुनुवाइको मिति तोकेको थियो । तर, सरकारले उक्त दिन छठ पर्वको सार्वजनिक बिदा दिएपछि सुनुवाइ स्वतः सरेको थियो ।
तिहार र छठ पर्वको बिदापछि मंगलबार अदालत खुलेसँगै सर्वोच्च अदालत प्रशासनले बुधबारका लागि प्रारम्भिक सुनुवाइको मिति निर्धारण गरेको हो । बुधबार एकल इजलासमा कार्कीको रिटमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।
सरकारले गत १८ कात्तिकमा तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णय गैरकानुनी भएको र त्यसबाट आफू अन्यायमा परेको दाबी गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
अब बुधबार हुने प्रारम्भिक सुनुवाइबाट कार्कीको रिटमा अदालतले कस्तो आदेश दिन्छ भन्ने विषय चासोका साथ हेरिएको छ ।