बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित माइक्रोबस दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी गरिएको छ ।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार मंगलबार दिउँसो करिब २ बजे जनकपुरबाट काठमाडौं आउँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको थियो ।
दुर्घटनामा माइक्रोबसमा सवार १४ जना घाइते भएका थिए । तीमध्ये पाँच जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते हुनेमा धनुषाको शहीदनगर नगरपालिकाका १४ वर्षीय पियुष गोहित, ३ वर्षीया बम साह, १५ वर्षीय प्रिन्स साह, जनकनन्दिनी गाउँपालिकाकी ३५ वर्षीया सीता यादव र नाम तथा ठेगाना नखुलेका एक पुरुष रहेका छन् ।
हाल घाइतेहरूको खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।