आगामी स्थानीय तह निर्वाचनको पूर्वतयारीमा निर्वाचन आयोग जुटेको छ । निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने आवश्यक तयारीलाई तीव्रता दिँदै आयोगले मतदाता नामावली अद्यावधिक, मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन र निर्वाचन सामग्री व्यवस्थापनको काम अघि बढाएको छ ।
निर्वाचनको तयारीका विषयमा आयोगले शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफलसमेत गर्दैछ । छलफलमा आगामी निर्वाचनको तयारी, व्यवस्थापन तथा आवश्यक प्रक्रियाका विषयमा राजनीतिक दलहरूको सुझाव लिइने आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सूचना अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आगामी स्थानीय तह तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली अद्यावधिक गर्ने, मतदानस्थल र मतदान केन्द्रको पुनरावलोकन गर्ने तथा आवश्यक निर्वाचन सामग्रीको आँकलन गर्ने काम भइरहेको छ ।
आयोगले मतदानस्थल तथा मतदान केन्द्र मतदाताका लागि पायक पर्ने स्थानमा छन् वा छैनन् भन्ने विषयमा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलहरूसँग छलफल गरी सुझाव संकलन गरिरहेको छ ।
स्थानीय तहमा संयुक्त बैठकबाट प्राप्त सिफारिसलाई जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधिसहितको बैठकमार्फत पुनरावलोकन गर्ने काम भइरहेको भट्टराईले जानकारी दिए ।
त्यस्तै, निर्वाचनमा आवश्यक पर्ने सामग्रीको विवरण संकलन गर्ने, आयोगसँग मौज्दात रहेका सामग्रीको अवस्था मूल्यांकन गर्ने र अपुग हुने सामग्रीको परिमाण आँकलन गर्ने काम पनि भइरहेको छ ।
निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने नियमित पूर्वतयारीलाई आयोगले निरन्तरता दिएको सूचना अधिकारी भट्टराईले बताए । उनका अनुसार निर्वाचनका लागि आवश्यक सामग्री कति चाहिने, आयोगसँग कति मौज्दात रहेको र कति अपुग हुने भन्ने विषयमा अहिले अध्ययन भइरहेको छ ।
निर्वाचनमा खटिने कर्मचारीको व्यवस्थापन भने निर्वाचनको मिति घोषणा भएपछि मात्रै गरिने आयोगको भनाइ छ । विगतका निर्वाचनको अनुभवका आधारमा आवश्यक कर्मचारीको संख्या, उपलब्ध जनशक्ति र थप आवश्यक पर्ने कर्मचारीको विवरण निर्वाचन कार्यक्रम घोषणा भएपछि यकिन गरिने भट्टराईले बताए ।
यसैबीच, निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीका विषयमा आयोगले शुक्रबार राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग परामर्श गर्दैछ ।
निर्वाचन आयुक्त सगुन शमशेर जबराका अनुसार दलहरूसँगको छलफलमा आगामी निर्वाचनको तयारी तथा व्यवस्थापनका विषयमा सुझाव लिइनेछ । राजनीतिक दलहरूसँगको छलफलपछि नेपाल सरकारसँग पनि परामर्श गरी निर्वाचनको मिति तथा बाँकी तयारीका विषयमा थप प्रक्रिया अघि बढाइने उनले जानकारी दिए ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ अनुसार निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले स्थानीय तह निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।
२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल २०८४ जेठ ५ गते समाप्त हुँदैछ । आयोगले निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिनको तयारी अवधि आवश्यक पर्ने बताउँदै आएको छ ।