स्थानीय तह निर्वाचनको तयारीका विषयमा निर्वाचन आयोगमा राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल भइरहेको छ । छलफलमा विभिन्न दलका शीर्ष नेताहरू सहभागी भए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने बैठकबाट बाहिरिएका छन् ।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरू सहभागी छन् ।
एमालेका अध्यक्ष ओली बैठकबाट बाहिरिएपछि पार्टीका तर्फबाट नेता देवेन्द्र दाहाल छलफलमा सहभागी छन् ।
बैठकमा अन्य दलका शीर्ष नेताहरू सहभागी हुँदा आफू किन नबसेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले आफ्नो दलका पनि सोही तहका नेता सहभागी रहेको बताए ।
‘आउँदै आएन भन्ने नपरोस् भनेर म बैठकमा सहभागी भएर निस्किएको हुँ,’ उनले भने । सबै दलका शीर्ष नेतृत्व उपस्थित हुँदा आफू नबसेको प्रश्नमा ओलीले भने, ‘हाम्रो पनि त्यही लेभलको नेता हुनुहुन्छ । उहाँ सहभागी हुनुहुन्छ ।’
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको तयारी, व्यवस्थापन तथा आवश्यक प्रक्रियाबारे राजनीतिक दलहरूसँग परामर्श गरिरहेको छ ।