मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने आज (शुक्रबार) अन्तिम दिन भए पनि राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा सरकार गठन प्रक्रिया अन्योलमा परेको छ ।
प्रदेशसभाको ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले नेकपा एमालेसँग सहकार्य गर्न नसकिने अडान राखेपछि नयाँ सरकार गठन प्रक्रिया लम्बिने संकेत देखिएको हो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव एमालेसँग मिलेर मधेश प्रदेशमा सरकार बनाउन नसकिने अडानमा कायम रहेको पार्टीका एक नेताले बताएका छन् । शुक्रबार साँझ जनकपुरधाम आइपुगेका यादवले आफ्ना दलका प्रदेशसभा सदस्यहरूसँग छुट्टाछुट्टै भेटघाट गरी सरकार गठनका विषयमा छलफल गरिरहेका छन् ।
अध्यक्ष यादवसँग भेट गरेका जसपा नेपालका एक प्रदेशसभा सदस्यका अनुसार यादव एमालेसँग सहकार्य गर्ने पक्षमा छैनन् । एमालेले दल विभाजन गराएको, लुम्बिनी प्रदेशमा आफ्ना सांसद तानेर सरकार बनाएको र मधेशमा पनि त्यस्तै अवस्था सिर्जना गर्न खोजेको भन्दै यादव एमालेसँग असन्तुष्ट रहेको ती सांसदको भनाइ छ ।
‘एमालेले दल टुक्र्याएको, लुम्बिनीमा आफ्ना सांसद तानेर सरकार बनाएको र मधेश प्रदेशमा पनि लुम्बिनीजस्तै अवस्था ल्याउन खोजेको भन्दै अध्यक्ष यादव एमालेसँग रुष्ट हुनुहुन्छ,’ ती सांसदले भने, ‘एमालेसँग सरकारमा नजाने अध्यक्षजीको स्पष्ट अडान आइसकेको छ । अब अर्को कुन विकल्पमा जाने भन्ने विषयमा छलफल भइरहेको छ ।’
जसपा नेपालका अध्यक्ष यादव मधेश प्रदेशमा नेपाली कांग्रेस र जनमत पार्टीसँग मिलेर सरकार गठन गर्न चाहिरहेका छन् । तर, कांग्रेसले यस विषयमा आफ्नो धारणा स्पष्ट पारिसकेको छैन । दुई दिनअघि जनकपुरधाममा बसेको कांग्रेस संसदीय दलको बैठकले भने सरकार गठनका लागि आफूहरू खुला रहेको निष्कर्ष निकालेको थियो ।
यसैबीच, प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न दिएको समय आज सकिँदैछ ।
शुक्रबारसम्म दलहरूको दाबी पेस नभएमा थप समय दिने विषयमा प्रदेश प्रमुख कर्ण कानुनी परामर्शमा छन् । तोकिएको समयभित्र दाबी पेस हुन नसके र थप समय पनि नदिइएमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रूपमा जसपा नेपालका नेता मुख्यमन्त्री बन्ने संवैधानिक अवस्था सिर्जना हुनेछ ।