आर्थिक तथा व्यापारिक नगरी वीरगंजमा सञ्चालित प्रायःजसो निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरूमा कर्मचारीहरूमाथि चरम श्रम शोषण भइरहेको गुनासो बाहिरिएको छ । श्रम ऐनले तोकेको कार्यसमयभन्दा निकै बढी समय काममा खटाउने तर अतिरिक्त समय ९ओभरटाइम० बापतको पारिश्रमिक नदिने प्रवृत्ति बढेको भन्दै बैंकिङ क्षेत्रका तल्लो तथा मध्यम तहका कर्मचारीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
विशेषगरी वीरगंजको आदर्शनगर क्षेत्रस्थित नबिल बैंकलगायत अन्य अधिकांश निजी बैंकहरूमा कार्यरत कर्मचारीहरूले बिहान ९ बजेदेखि राति अबेर ९ बजेसम्म दैनिक १२ घण्टासम्म कार्यालयमा खटिनुपरेको पीडा पोखेका छन् । बैंकको नियमित कारोबार समय सकिएपछि पनि आन्तरिक हिसाबकिताब मिलान, टार्गेट पूरा गर्ने दबाब र प्रशासनिक कामको बहानामा राति अबेरसम्म बस्न बाध्य पारिने गरेको कर्मचारीहरूको भनाइ छ।
नबिल बैंक आदर्शनगर शाखामा कार्यरत केही कर्मचारीहरूका अनुसार कार्यालय समयभन्दा बाहिर काम गरेबापत पाउनुपर्ने ओभरटाइम भत्ता व्यवस्थापन पक्षले दिने गरेको छैन । “बिहान ९ बजे नै बैंक पुग्नुपर्छ, राति ९ बजेसम्म पनि घर फर्किन पाइँदैन,” एक पीडित कर्मचारीले नाम नखुलाउने सर्तमा भने, “बढी समय काम लगाए पनि न त ओभरटाइम दिइन्छ, न त त्यसको उचित मूल्याङ्कन नै हुन्छ । उल्टै माथिल्लो ओहदाका कर्मचारीहरूबाट मानसिक दबाब झेल्नुपर्छ ।”
वीरगंजका प्रायः सम्पूर्ण निजी बैंकहरूमा माथिल्लो ओहदाका कर्मचारी तथा शाखा प्रबन्धकहरूले निक्षेप संकलन र कर्जा प्रवाहको ‘टार्गेट’ पूरा गर्न तल्लो तहका कर्मचारीहरूलाई अनावश्यक दबाब दिने गरेको आरोप छ । जागिर गुम्ने डरले कर्मचारीहरू खुलेर विरोध गर्न नसके पनि भित्रभित्रै मानसिक तनाव र पारिवारिक समस्यामा पर्न थालेका छन् ।
नेपालको प्रचलित श्रम ऐन अनुसार दैनिक ८ घण्टा र सातामा ४८ घण्टाभन्दा बढी समय काममा लगाएमा अतिरिक्त पारिश्रमिक ९ओभरटाइम० दिनुपर्ने स्पष्ट कानुनी व्यवस्था छ । तर, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक र श्रम कार्यालयको प्रभावकारी अनुगमन नहुँदा वीरगंजका निजी बैंकहरूले कानुनको धज्जी उडाउँदै खुलेआम श्रम शोषण गरिरहेका छन् ।
यस विषयमा सम्बन्धित बैंकका उच्च अधिकारीहरूसँग बुझ्न खोज्दा कामको चापका कारण कहिलेकाहीँ ढिला हुने गरेको स्वीकारे पनि श्रम शोषणको आरोपलाई भने अस्वीकार गर्दै आएका छन् । पीडित कर्मचारीहरूले भने श्रम कार्यालय तथा नेपाल राष्ट्र बैंकले तत्काल अनुगमन गरी बैंकहरूमा भइरहेको अनियमित कार्यसमय र श्रम शोषण रोक्न माग गरेका छन् ।