मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।
प्रदेशमा विद्यमान बेरोजगारी, गरिबी र न्यून साक्षरतालगायतका समस्या न्यूनीकरण गर्दै युवालाई सीपयुक्त, स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यसहित मुख्यमन्त्री यादवले आइतबार पदभार ग्रहण गरेलगत्तै यस्तो निर्णय गरेका हुन् ।
मुख्यमन्त्रीको पहिलो निर्णयमा सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ । प्रस्तावित कार्यक्रमअन्तर्गत पुनःसीप विकास तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन, मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।
त्यसैगरी, आधुनिक प्रविधिमा आधारित स्वरोजगार तथा आत्मनिर्भरता प्रवर्द्धन गर्न कृत्रिम बुद्धिमत्ता (एआई), ई–कमर्स र कम्प्युटरसम्बन्धी तालिम सञ्चालन गर्ने योजना अघि सारिएको छ ।
यी कार्यक्रममार्फत युवाको क्षमता विकास, सीप अभिवृद्धि तथा उद्यमशीलताको विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ ।
मुख्यमन्त्री यादवको निर्णयअनुसार मधेश प्रदेशका आठवटै जिल्लामा एक महिनाभित्र कार्यक्रम प्रारम्भ गर्ने गरी प्रस्ताव अघि बढाइएको छ । कार्यक्रम कार्यान्वयनमा आए प्रदेशमा बेरोजगारी न्यूनीकरण, महिला सशक्तीकरण तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै स्वरोजगार बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।