धनुषाको धनुषाधामबाट कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित एक महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–५, निर्धना टोल निवासी करिब ४० वर्षीया गंगावती महतो रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता ओमप्रकाश खनालका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ७ बजे धनुषाधाम नगरपालिका–४ स्थित गौरीपुर टोलबाट उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार महतोले आफ्नो कम्मरमा कटुवा पेस्तोल एक थान र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाएर लैजाँदै गरेको अवस्थामा फेला परेकी थिइन् ।
पक्राउ परेकी महतोलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ । उनीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनुका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।