सिरहामा ट्र्याक्टरमा लुकाएर लैजाँदै गरेको ७२ किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मंसिर ५ गते राति करिब ९ः३० बजे सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा प्रहरीले गाँजासहित ट्र्याक्टर चालकलाई पक्राउ गरेको हो ।
शिवचोकबाट सिरहा बजारतर्फ जाँदै गरेको ज १ त ८३११ नम्बरको ट्र्याक्टरलाई शंका लागेर प्रहरीले रोकी चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा ट्र्याक्टरको इन्जिन टेलरमा रहेको टुल बक्स तथा टेलरमा फल्स बटम (कृत्रिम गोप्य भाग) बनाई प्लास्टिकले बेरेर लुकाइएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्लास्टिकसहित ३६ वटा पोकामा रहेको उक्त गाँजाको कुल तौल ७२ किलोग्राम रहेको छ ।
गाँजासहित पक्राउ पर्नेमा सिरहा नगरपालिका–१२ सारश्वर टोल निवासी अन्दाजी ३३ वर्षीय अनिलकुमार महतो रहेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर ट्र्याक्टर र बरामद गाँजासहित जिल्ला प्रहरी कार्यालय सिरहामा राखेको छ ।
पक्राउ परेका महतोमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।