त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित भएका विद्यार्थीका लागि विभिन्न १६ शीर्षकमा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय गरेको छ ।
त्रिविको वार्षिक तथा सेमेस्टर प्रणालीअन्तर्गत अध्ययनरत र नयाँ भर्ना हुन चाहने बाढी प्रभावित विद्यार्थीले सम्बन्धित स्थानीय तहको सिफारिस पेस गरेपछि शुल्क छुट पाउनेछन् ।
त्रिविका प्रवक्ता नविन्द्र भण्डारीका अनुसार धरौटी र परीक्षा शुल्कबाहेक त्रिवि रजिस्ट्रेसनसहित विभिन्न शीर्षकका शुल्क मिनाहा गरिनेछ । यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न त्रिविले फाराम नं. १ मा उल्लेखित शुल्क मिनाहा गर्न सम्पूर्ण क्याम्पस, केन्द्रीय विभाग तथा केन्द्रहरूलाई निर्देशन दिएको छ ।
त्रिविका अनुसार मिनाहा हुने शुल्कमा क्याम्पस प्रवेश शुल्क, त्रिभुवन विश्वविद्यालय दर्ता शुल्क, शिक्षण शुल्क, परिचयपत्र शुल्क, खेलकुद शुल्क, प्रयोगशाला शुल्क, पुस्तकालय शुल्क, छात्रावास शुल्क, जरिबाना, शोधपत्र शुल्क, विविध शुल्क, पुस्तकालय धरौटी, छात्रावास धरौटी, प्रयोगशाला धरौटी र विविध विद्यार्थी धरौटी शुल्कलगायत १६ शीर्षक समावेश छन् ।
बाढीबाट रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका विद्यार्थी प्रभावित भएका छन् । त्रिविले तोकिएको शैक्षिक सत्रमा वार्षिक वा सेमेस्टर प्रणालीअन्तर्गत भर्ना भई अध्ययनरत तथा आगामी शैक्षिक सत्रमा भर्ना हुन योग्यता पुगेका विद्यार्थीलाई यो सुविधा उपलब्ध गराउने जनाएको छ ।
त्रिविका अनुसार शुल्क मिनाहासम्बन्धी व्यवस्था आर्थिक वर्ष २०८३/८४ देखि २०८७/८८ सम्म पाँच वर्षका लागि लागू हुनेछ ।