मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
यसअघि शनिबार प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि कुनै दाबी नपरेपछि प्रदेश प्रमुखले कानुनी परामर्श गरेर ठूलो दलको नेताका रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त यादवले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले आगामी दिनमा उनले प्रदेशसभामा आफ्नो बहुमत प्रमाणित गर्नुपर्नेछ ।
जसपा नेपालका नेता यादव यसअघि मधेश प्रदेशसभाको पहिलो कार्यकालमा सभामुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनी दोस्रो कार्यकालमा मधेश प्रदेशको मुख्यमन्त्री बनेका हुन् ।