राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट सशक्त आवाज उठाउनुपर्ने बताएकी छन् ।
नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै सांसद ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि धार्मिक गुरु, सनातनी समुदाय तथा राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिएकी हुन् ।
उनले मठमन्दिरमा आउने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दू राष्ट्र स्थापनाबारे प्रश्न गर्न र त्यसका लागि दबाब दिन धार्मिक गुरुहरूलाई आग्रह गरिन्। नेताहरू मन्दिरमा आउँदा ‘हाम्रो हिन्दू राष्ट्र खोइ ?’ भनेर प्रश्न गर्नुपर्ने उनको भनाइ थियो ।
हिन्दू समुदायको पक्षमा सशक्त आवाज उठाउन नसक्दा सनातनी समुदायको विश्वास गुम्दै गएको उल्लेख गर्दै उनले संगठन र राजनीतिक दलहरूले आफ्ना कमजोरीसमेत स्वीकार गर्नुपर्ने बताइन् ।
उनले गौहत्या, गौतस्करी तथा हिन्दू समुदायमाथि हुने हिंसाका घटनामा मौन बस्न नहुने भन्दै विरोध र खबरदारीका लागि सडकमा उत्रिनुपर्ने धारणा राखिन् ।
‘गौहत्या हुँदाखेरि हामी सडकमा आएर प्रश्न सोध्नुपर्छ, गौतस्करी हुँदाखेरि त्यसको विरोधमा सडकमा आउनुपर्छ, हिन्दूहरूको हत्या हुँदा हामी खुलेर आवाज उठाउनुपर्छ,’ उनले भनिन् ।
हिन्दू राष्ट्र स्थापनाका लागि राप्रपाले संसद्भित्र निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै उनले धार्मिक गुरु तथा सनातनी समुदायलाई संसद्बाहिरबाट आन्दोलन र अभियानमा सहयोग गर्न अपिल गरिन् ।
सांसद ओलीले हिन्दूहरूको व्यावहारिक रूपमा रक्षा गर्ने र धार्मिक पहिचान संरक्षण गर्ने दिशामा संगठनले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा समेत जोड दिइन् ।