काठमाडौं । नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाले गर्न लागेको विरोधसभामा हजारौँ समर्थकलाई उतार्ने तयारी गरेको छ । सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौंमा आयोजना गरिने विरोधसभालाई सफल बनाउन व्यापक जनसहभागिता जुटाउने निर्णय गरेको हो ।
बैठकपछि उपाध्यक्ष जगन्नाथ खतिवडाले राजसंस्थाका विषयमा फैलाइएको कुप्रचारलाई चिर्दै गणतन्त्र पक्षधर जनतालाई सडकमा उतार्ने योजना रहेको बताए । उनका अनुसार समाजवादी मोर्चाले मुलुकमा लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न प्रदर्शन गर्न लागेको हो ।
उपाध्यक्ष खतिवडाले हालैका दिनहरूमा राजावादी समूहद्वारा गरिएको प्रदर्शनलाई खण्डन गर्दै गणतन्त्र पक्षधरहरूले एकताबद्ध भई जनचेतना फैलाउनु आवश्यक रहेको बताए । ‘राजावादी प्रदर्शनले लोकतान्त्रिक दलहरू डराएको छैन, तर नागरिकलाई भुलाउन खोजिएको छ,’ उनले भने, ‘त्यसैले हामी व्यापक रूपमा जनतालाई सडकमा उतारेर जनचेतना जगाउनेछौं ।’
खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै नारायणहिटी संग्रहालयमा टिकट काटेर मात्र प्रवेश गर्न सक्ने व्यक्ति भएको टिप्पणी गरे । उनले राजतन्त्र फर्कने कुनै सम्भावना नभएको दाबी गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र नै स्थायी रूपमा स्थापित भइसकेको बताए ।
समाजवादी मोर्चाले आयोजना गर्न लागेको विरोधसभा मुलुकभरका कार्यकर्ताहरूलाई परिचालित गर्दै सफल बनाउन एकीकृत समाजवादीले विभिन्न तयारी गरिरहेको छ ।