नेपाली कांग्रेस सर्लाहीका सभापतिलाई बर्खास्त गर्न माग गर्दै कार्यकर्ताहरूले केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन् ।
सभापति सुरेन्द्रप्रसाद सिंहलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिसकेकाले उनलाई पदमुक्त गर्नुपर्ने प्रदर्शनकारीहरूको माग छ । जिल्ला उपसभापति, क्षेत्रीय सभापतिलगायतका पदाधिकारीहरूले सभापति सिंहले पार्टी नीतिविपरीत काम गरेकाले राजीनामा दिनुपर्ने बताएका छन् । उनीहरूले सभापति शेरबहादुर देउवालाई दुई बुँदे निवेदन समेत बुझाएका छन् ।
सर्वोच्च अदालतको फैसला अनुसार नेपाली कांग्रेसको संशोधित विधान २०७५ को धारा २ को उपधारा १३ को ‘क’ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अन्तर्गत सभापति सिंहलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
प्रदर्शनका क्रममा सभापति सिंहमाथि गुटबन्दी गरेको, संगठनलाई निष्पक्ष रूपमा सञ्चालन नगरेको तथा कार्यकर्तालाई विभाजन गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।