काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ, जसमा संक्रमणकालीन न्यायलाई प्रमुख एजेन्डाका रूपमा उठाइनेछ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरू सक्रिय भइरहेकाले पहिलोपटक संयुक्त बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मिलित बैठक अपराह्न ४ बजे बस्ने तय भएको छ ।
प्रधानमन्त्री ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्ति प्रक्रियाबारे छलफल हुनेछ। यसअघि गठित सर्च कमिटीले आवश्यक प्रक्रिया पूरा गरे पनि पदाधिकारी नियुक्तिका लागि नाम सिफारिस गर्न सकेको थिएन।
यस बैठकमा राजावादीहरूको बढ्दो गतिविधि र गणतन्त्र पक्षधर दलहरूको रणनीति तय गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।