काठमाडौं । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति (जिसस) सदस्यदेखि वडा सदस्यसम्मले नियमित रूपमा बुझाउनुपर्ने लेवी घटाउने निर्णय गरेको छ ।
आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जिसस सदस्यदेखि वडा सदस्यसम्मले तिर्ने लेवी आधाले घटाउने निर्णय गरेको हो ।
कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अब जिसस सदस्य, गाउँ/नगर वडा अध्यक्षले मासिक पारिश्रमिकको ५ प्रतिशत र वडा सदस्य तथा कार्यपालिका सदस्यले २ प्रतिशत अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
यसअघि चैत ५ गते महासचिव गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले लेवी आधाले घटाउने निर्णय गरेको थियो। उक्त निर्णयलाई कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको हो ।