काठमाडौं । नेकपा एमालेले नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको जनाएको छ । महासचिव शंकर पोखरेलले आज एक विज्ञप्ति जारी गर्दै कुनै विवाद भए कूटनीतिक माध्यमबाट समाधान गरिने र बलियो विकास साझेदारीलाई अगाडि बढाइने बताएका छन् ।
एमालेले परराष्ट्र नीति र बाह्य सम्बन्धजस्ता संवेदनशील विषयमा समाचार लेख्नु अघि पार्टीको आधिकारिक धारणा बुझ्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । पोखरेलका अनुसार, केही स्वदेशी तथा विदेशी मिडियाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई तोडमोड गरी गलत ढंगले प्रस्तुत गरेका छन् ।
‘यी समाचारले अनावश्यक सनसनी मच्चाउने र नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धमा आशंका सिर्जना गर्ने दुराशय राखेका छन्,’ विज्ञप्तिमा उल्लेख छ । एमालेले नेपालको संविधान र लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयन भएको भन्दै इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयास नेपाली जनताले अस्वीकार गर्ने दाबी गरेको छ ।
हालैको एमाले बैठकमा ओलीले आफूलाई हटाउन भारतीय खुफिया एजेन्सी ‘रअ’ सक्रिय रहेको दाबी गर्दै भारतलाई ‘देखाइदिने’ चेतावनी दिएको समाचार केही सञ्चारमाध्यममा आएका थिए ।