जनकपुरधाम । धनुषामा एक युवकको विभत्स हत्या भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका २५ वर्षीय शिवशंकर महतोको शव गौशाला नगरपालिका-८ सागरनाथ वनमा फेला परेको छ ।
प्रहरीका अनुसार उनको शव शुक्रबार साँझ रेलवे ट्रयाकबाट करिब १०० मिटर दक्षिणतर्फ भेटिएको थियो। शनिबार मात्र उनको सनाखत भएको हो । शवको अवस्था हेर्दा हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ । महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले शवको प्रकृति हेर्दा विभत्स हत्या भएको देखिएको बताए। शिवशंकरको नग्न अवस्थामा रहेको शवमा खुकुरी प्रहारको गहिरो घाउहरू देखिएको छ भने मुखमा आगो लगाइएको जस्तो देखिन्छ।
स्थानीयका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना महतो, १० महिने छोरा सहित ससुराली जान घरबाट निस्किएका थिए । महेन्द्रनगरसम्म एउटै मोटरसाइकलमा पुगेपछि श्रीमतीले माइतबाट दुईवटा मोटरसाइकल बोलाएकी थिइन्। एउटामा श्रीमती सृजना छोरा सहित चढेकी थिइन् भने अर्कोमा शिवशंकर सवार थिए ।
तर, परिवारले उनी ससुराली पुगेको ठानेका थिए । शुक्रबार महोत्तरी प्रहरीले शव पहिचानका लागि परिवारलाई बोलाएपछि मात्रै शिवशंकरको हत्या भइसकेको पत्ता लागेको थियो । शिवशंकरका भाइ राम महतोका अनुसार केही दिनअघि ससुरालीमा विवाद हुँदा उनी कुटिएका थिए । त्यसपछि उनी ससुराली जान मानेका थिएनन्, तर श्रीमतीले हजुरबुबाको मृत्यु भएको भन्दै उनलाई जान बाध्य बनाएको भाइ रामको दाबी छ ।
मृतकका परिवारले घटनाको गम्भीर अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रहरीले अनुसन्धान अघि बढाएको बताएको छ भने घटनाको वास्तविकता छिट्टै बाहिर आउने आश्वासन दिएको छ ।